जनताको आँगनमै आशा बोकेर पुगेका खड्ग फागोको अभियानले मतदाताको मनमा नयाँ भरोसाको बीउ रोप्दै

  • this is image NayaNaya Khabar
  • 50 दिन अगाडि

theme

जनताको आँगनमै आशा बोकेर पुगेका खड्ग फागोको अभियानले  मतदाताको मनमा नयाँ भरोसाको बीउ रोप्दै 
उर्लाबारी, १३ फागुन । चुनावी मौसमसँगै गाउँका गल्ली–गल्लीमा चहलपहल बढेको छ । घरआँगनमा भेला भएका स्थानीयका आँखामा आशा, अपेक्षा र परिवर्तनको चाहना स्पष्ट देखिन्छ । यही भावना बोकेर आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै खड्ग फागो यतिबेला मोरङ क्षेत्र नम्बर–१ का गाउँ–गाउँमा सक्रिय रूपमा घरदैलो अभियानमा जुटेका छन् ।

नेपाली कांग्रेस का तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका फागोले चुनावी प्रचारलाई औपचारिक सभामा मात्र सीमित नराखी मतदाताको घरआँगनसम्म पुग्ने रणनीति अपनाएका छन् । बुधबार उनले मिक्लाजुङ गाउँपालिका वडा नम्बर १,४ र ५ का विभिन्न टोल–बस्तीमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गरे । घरदैलो कार्यक्रममार्फत नागरिकका दैनिक जीवनसँग जोडिएका समस्या, अपेक्षा र सुझावहरू उनले ध्यानपूर्वक सुने ।

स्थानीयवासीहरूले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको पहुँच अझै कमजोर रहेको, सडक पूर्वाधार अभावका कारण दैनिक जीवन कष्टकर बनेको तथा युवाहरू रोजगारीको खोजीमा विदेशिन बाध्य भएको गुनासा खुलेर राखेका थिए । कृषकहरूले कृषि उत्पादनको उचित बजारीकरण, सिँचाइ सुविधा विस्तार र आधुनिक प्रविधिको आवश्यकता औँल्याए । महिला समूहहरूले स्वरोजगार कार्यक्रम, सीपमूलक तालिम र स्वास्थ्य सेवाको सहज पहुँच विस्तार गर्न माग गरे भने युवाहरूले खेलकुद पूर्वाधार, रोजगारी सिर्जना र प्राविधिक शिक्षामा लगानी बढाउनुपर्ने सुझाव दिए ।

मतदाताका कुरा ध्यानपूर्वक सुन्दै फागोले जनताको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर योजनाबद्ध विकास कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । विकासलाई नारामा सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ थियो । कृषि, पर्यटन, साना उद्योग र उद्यमशीलतालाई जोडेर स्थानीय अर्थतन्त्र सबल बनाउने तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने योजना उनले प्रस्तुत गरे ।

घरदैलो कार्यक्रमका क्रममा स्थानीयवासीहरूले फागोलाई युवा, ऊर्जाशील र विकासप्रेमी नेताका रूपमा चित्रण गरेका छन् । लामो समयदेखि समाधान हुन नसकेका समस्या समाधानका लागि नयाँ सोच र सक्रिय नेतृत्व आवश्यक रहेको उनीहरूको धारणा छ । क्षेत्रका समस्या नजिकबाट बुझेको नेतृत्व आए सकारात्मक परिवर्तन सम्भव हुने विश्वास स्थानीयले व्यक्त गरेका छन् ।

अभियानमा पार्टीका स्थानीय नेता, कार्यकर्ता र समर्थकहरूको उल्लेख्य सहभागिता देखिएको छ । प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै अघि बढाइएको अभियानले मतदातासँग विश्वासको सेतु निर्माण गरेको स्थानीय नेतृत्वको दाबी छ ।

घरदैलोमार्फत जनतासँग सिधा संवाद गर्दै अघि बढिरहेको फागोको अभियानले मोरङ–१ मा चुनावी माहोललाई थप सक्रिय बनाएको छ । जनताको दुःख, संघर्ष र सपनालाई नजिकबाट महसुस गर्दै अघि बढ्ने शैलीले उनको अभियानलाई भावनात्मक र जनमुखी बनाएको स्थानीयहरू बताउँछन् । आगामी निर्वाचनमा जनताको विश्वास कसको पक्षमा जाने भन्ने चासो बढिरहेका बेला, घरआँगनमै पुगेर जनताको आशिर्वाद लिदै प्रतिद्धता गरीरहेका फागोको अभियानले मतदाताको मनमा नयाँ भरोसाको बीउ रोपिरहेको अनुभूति गरिएको स्थानियहरु बताउछन ।

छुटाउनुभयो कि ?